भक्तपुर, १७ असोज। होस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिले दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ।
संघले पाथीभरा एकेडेमी सृजनानगरमा होस्टल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष किरण शर्माको प्रमुख आतिथ्यतामा दशैं, तिहार, नेपाल संवत तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो।

कार्यक्रममा संघका उपाध्यक्ष अनु सिटौलाले स्वागत मन्तव्यसहित होस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमिति स्थापना भएसंगै यो संस्था अहिले क्रियाशील भएको बताउनुभयो।
भक्तपुर जिल्लाकै पहिलो पूर्व होस्टल व्यवसायी तथा पाथीभरा एकेडेमी सृजनानगरका प्रमुख रमेशप्रसाद सिटौलाले होस्टल व्यवसाय पूर्णरूपमा विद्यार्थीको भविष्यसँग जोडिएको हुनाले संयमित र विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउनुभयो।
उहाँले विद्यार्थीहरूलाई स्वस्थ र तन्दुरुस्त बनाउन बेलाबेला योग, ध्यान लगायतका कार्यहरू गराउने र स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो।
होस्टल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष हिक्मत थापाले छोटो समयमा संघअन्तर्गत भक्तपुर जिल्ला कार्यसमिति सक्रिय रूपमा अगाडि बढिरहेको बताउनुभयो।
होस्टल व्यवसायी संघ ललितपुर जिल्ला कार्यसमितिका अध्यक्ष सिन्धु मल्लले लापरवाही र अवैधरूपमा चलाइएका होस्टलहरूको सुधार र अनुगमन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा पाथीभरा एकेडेमी र पाथीभरा ब्वाइज होस्टलका बाल कलाकारहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए।