काठमाडौँ, सम्माननीय सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गर्नुभएको हो ।


भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गर्नुभयो। उहाँले युएईले‍ स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिनुभयो । ‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दुरदर्शी नेतृत्वको प्रशंसा गर्दछु,’ उहाँले भन्नुभयो।


सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै उनीहरुको रोजगार तथा जीवन सुरक्षालाई विशेष ध्यान दिन अपिल गर्नुभयो । युएईमा मात्रै करिव ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्।
सभामुखले हालै काठमाडौंमा सम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा युएईलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यात तथा नेपाल र युएईका बीचमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजिकरणको अपिल गर्नुभयो।


युएईका राजदूत अलसाम्सीले युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गराउनुभयो। उहाँले गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको उल्लेख गर्नुभयो।
अलसाम्सीले दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसदको भूमिका अपेक्षित रहेको बताउनुभयो । उहाँले युएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने समेत उल्लेख गर्नुभयो ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *