World Freedom Day Today and Its Relevance

काठमाडौँ । हरेक वर्ष नोभेम्बर ९ मा संसारभर विश्व स्वतन्त्रता दिवस मनाइन्छ। यो दिवस केवल एउटा दिवसमा मात्र सीमित नभई स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारको महत्त्वको बारेमा बुझ्ने दिन पनि हो। विगतमा गरेका र भोगेका सङ्घर्षले नै आज हामीले आफ्नो स्वतन्त्रता पाएका छौँ। ती सङ्घर्ष र स्वतन्त्रताको महत्त्व सम्झिने विशेष दिन हो यो।

विश्व स्वतन्त्रता दिवसको इतिहास दोस्रो विश्वयुद्धपछि सुरु भएको शीतयुद्ध (Cold War) सँग जोडिएको छ। दोस्रो युद्धपछि जर्मनी दुई भागमा बाँडियो; एउटा पूर्वी जर्मनी र अर्को पश्चिमी जर्मनी। सन् १९६१ मा पूर्वी र पश्चिमी जर्मनीका मानिसहरूबिच आवतजावत रोक्नका लागि बर्लिन सहरको बिचमा ठुलो पर्खाल बनाइयो जसलाई ‘बर्लिन वाल’ (Berlin Wall) भनिन्छ। यस पर्खालले एउटा देशका मानिस र परिवारलाई छुट्याएको थियो। मानिसहरू आफ्नो इच्छाले एक ठाउँबाट अर्को ठाउँ जान पाउँदैनथे। उनीहरूलाई स्वतन्त्र रूपमा बोल्न र आफ्नो इच्छाअनुसार जीवन बिताउन पनि एकदम कठिन थियो। त्यस समयमा मानिसहरूले धेरै प्रतिबन्ध र समस्या भोग्नु परेको थियो।

जनता धेरै समयसम्म दमनमा बस्न सकेनन्। सन् १९८९ मा पूर्वी युरोपमा मानिसहरूले आफ्नो स्वतन्त्रताको लागि आवाज उठाउन थाले। जनताको दबाब बढ्दै गएपछि सरकार प्रतिबन्ध हटाउनका लागि बाध्य भयो। त्यसपछि अन्ततः ९ नोभेम्बर १९८९ मा बर्लिनको पर्खाल भत्काइयो। वर्षौँपछि परिवारहरू फेरि एक भए। यस घटनालाई विश्वभर स्वतन्त्रता र लोकतन्त्रको सुरुवातको महत्त्वपूर्ण घटनाको रूपमा लिइयो। यस घटनाको सम्झनामा सन् २००१ मा अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुसले नोभेम्बर ९ लाई विश्व स्वतन्त्रता दिवस घोषणा गरे र त्यसपछि प्रत्येक वर्ष यस दिनलाई विश्व स्वतन्त्रता दिवस भनेर मनाउन थालियो।

नेपालमा पनि स्वतन्त्रता र लोकतन्त्रको विशेष महत्त्व छ। नेपालले पनि स्वतन्त्रता प्राप्त गर्नका लागि धेरै लामो समयसम्म सङ्घर्ष गर्नु परेको थियो। २००७ सालको राणाशासन विरुद्धको आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनले नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापना गर्नका लागि ठुलो भूमिका खेलको थियो। यही आन्दोलनबाट नै नेपाली जनताले आफ्नो अधिकार र स्वतन्त्रताका लागि आवाज उठाएका थिए। त्यसैले विश्व स्वतन्त्रता दिवसले नेपाललाई पनि स्वतन्त्रता, समानता र आफ्नो अधिकारको महत्त्वलाई बुझाउँछ। नेपाल र अन्य देशका मानिसहरूले स्वतन्त्रताका लागि गरेको सङ्घर्षले स्वतन्त्र जीवन कति महत्त्वपूर्ण छ भन्ने कुरा सिकाउँछ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *