काठमाडौं, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरूको महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
एक्स-पोज नेपालले आयोजना गरेको दशौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा साइकल र्यालीसहित आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने बताउँदै राज्यलाई विदाको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको हो।
महिला हिंसा तथा महिनावारी सम्बन्धी काम गरिरहेको गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेक वर्षझैं यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्याली गरेको थियो। यस वर्ष “महिनावारीमैत्री विश्वव्यापी हातेमालो” भन्ने नाराका साथ मनाइएको छ। यो हरेक वर्षको मे २८ का दिन मनाइन्छ। नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात सात वर्ष पहिले गरिएको पहिलो साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताउँदै यस वर्ष चार सय पचास सहभागीमा ७५ प्रतिशत महिला र्यालीमा सहभागी भएको बताउनुभयो।

युनिसेफका प्रतिनिधि जिहुनरले महिनावारी स्वच्छतामा प्रमुख गरि सरसफाई नै रहेको बताउनुभयो। उहाँले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताउनुभयो।
ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्येक विद्यालयमा महिनावारी सम्बन्धी सहजीकरण कार्यक्रम गरिरहेको बताउनुभयो।
राष्ट्रीय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाईसँग सम्बन्धित रहेकाले वातावरण प्रदूषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताउनुभयो। उहाँले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकोले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदूषण घटाउनुपर्ने बताउनुभयो।