यस वर्षको दसैँका लागि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।
लामो दूरीका सवारीसाधनमा दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दुई जना चालक राख्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले दसैँका लागि सार्वजनिक यातायात व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो।
दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको उचित व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ।
