Why are crows worshipped during Kag Tihar?

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै यसको खुसी र रमाइलो सुरु हुन थालेको छ। पाँच दिनसम्म मनाइने तिहारमा विभिन्न जनावरको पूजा गर्नुका साथै देवीदेवता र दाजुभाइ-दिदीबहिनीबिचको सम्बन्धलाई पनि विशेष महत्त्व दिइन्छ र तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ। काग तिहार हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइन्छ। 

यही दिनदेखि तिहारको पाँचदिने उत्सव अर्थात् यमपञ्चक सुरु हुन्छ। पौराणिक कथा अनुसार यमराज आफ्नो बहिनी यमुनाको घरमा पाँच दिन बसेको प्रसङ्गसँग यो पर्व जोडिएको छ। बहिनी यमुनाले आफ्नो दाजुको सुख, शान्ति र दीर्घायुको कामना गर्दै गरेको सत्कारबाट प्रसन्न भएर यमराजले वरदान दिएको धार्मिक कथा प्रचलित छ, यही परम्परासँग जोडिएर तिहारको पाँच दिन विशेष रूपमा मनाउने गरिन्छ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ। यमराजलाई मृत्युका देवताका रूपमा पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार कागले मानिसको लोकबाट यमराजसम्म समाचार पुर्‍याउने काम गर्छ। त्यसैले कागलाई खुसी बनाएर पूजा गर्दा यमराज प्रसन्न हुने र परिवारका सदस्यलाई अनिष्ठबाट बचाउने विश्वास गरिन्छ। यस दिन कागको पूजा गरेर परिवारका सबै सदस्यको राम्रो स्वास्थ्य र दीर्घायुको कामना गरिन्छ। कागले अशुभ समाचार नल्याओस् र घरमा राम्रो खबर आओस् भन्ने कामनासमेत गरिन्छ।

काग तिहारका दिन बिहानै उठेर घरको आँगन, छत वा खुल्ला ठाउँमा कागका लागि खानेकुरा राख्ने गरिन्छ। यस दिन कागलाई दही भात, रोटी, मिठाई तथा अन्य खानेकुरा चढाउने र पूजा गर्ने गरिन्छ। कतिपय घरमा कागलाई खाना चढाएपछि मात्र आफूले खाने परम्परा पनि रहेको छ। यस दिन कागलाई नधपाउने र सम्मान गर्ने गरिन्छ।

काग तिहारले मानिसलाई पशुपन्छी प्रति दया, माया र सम्मान गर्न पनि सिकाउँछ, यसरी धार्मिक विश्वास र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको काग तिहार नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइँदै आएको छ।

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *