तिहार भन्नासाथ फुलमाला, टीका, दियो र झिलिमिली बत्तीले सजिएका घरहरूको सम्झना आउँछ। आपसी प्रेम, सद्भाव र खुसी साटासाट गर्ने यस चाडको विशेष दिनका रूपमा आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। सामान्यतया कुकुर तिहार यमपञ्चकको दोस्रो दिन र लक्ष्मी पूजा तेस्रो दिन मनाइन्छ। तर यस वर्ष तिथिको घटबढका कारण दुवै पर्व एकै दिन, कार्तिक २२ गते, परेको छ। तिहारका हरेक दिनको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। कुकुर तिहारले मानिस र जनावरबीचको आत्मीय सम्बन्धलाई दर्शाउँछ भने लक्ष्मी पूजाले घरमा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई जोड दिन्छ।
कुकुर तिहारका दिन कुकुरलाई मानिसको विश्वासिलो साथी, घरको रक्षक तथा यमराजको दूतका रूपमा सम्मान गर्दै पूजा गर्ने गरिन्छ।धार्मिक विश्वास अनुसार कुकुरको पूजा गर्दा यमराज प्रसन्न हुने र संकटबाट बच्न सकिने मान्यता छ। बिहानै कुकुरलाई नुहाइदिएर निधारमा टीका लगाइदिने, घाँटीमा फूलको माला पहिराइदिने र मीठो खानेकुरा खुवाउने गरिन्छ। यस पर्वले मानिसलाई जनावरप्रति माया, दया र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन्छ।
यसैबीच, कुकुर तिहारको महत्त्वलाई अझ फराकिलो रूपमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गरेको छ। कुकुर तिहार र नेपाली संस्कृति झल्किने उत्कृष्ट रिल बनाउने सहभागीलाई रु. १ लाख पुरस्कार प्रदान गरिनेछ। यसले कुकुर तिहारलाई नेपाली मौलिक संस्कृति र पर्यटनसँग जोडेर विश्वमाझ चिनाउने प्रयासलाई समेत अघि बढाएको छ।
कुकुर तिहारसँगै आजै साँझ लक्ष्मी पूजा पनि गरिँदै छ। धार्मिक मान्यताअनुसार लक्ष्मीलाई धन, वैभव, सुख र समृद्धिकी देवी मानिन्छ। यस दिन घरमा लक्ष्मीको वास होस् र परिवारमा धन, सुख, शान्ति तथा समृद्धि छाओस् भन्ने कामना गरिन्छ लक्ष्मीको स्वागतका लागि बिहानै घर, आँगन र वरपर सफा गरिन्छ भने साँझ दियो, मैनबत्ती तथा झिलिमिली बत्ती बालेर घर उज्यालो बनाइन्छ।
घरको ढोकादेखि पूजाकोठासम्म लक्ष्मीको पाइला बनाउने, रङ्गोली सजाउने तथा लक्ष्मी र कुबेरको पूजा गर्ने चलन पनि छ। साँझ परिवारका सदस्यहरू भेला भएर पूजा गर्ने, मिठामिठा परिकार खाने र देउसी–भैलो खेल्दै रमाइलो गर्ने गरिन्छ।
कुकुर तिहार र लक्ष्मी पूजाले आजको दिनलाई अझ विशेष बनाएको छ। सबैले आपसी प्रेम, सद्भाव र खुसीका साथ तिहार मनाऔँ। तिहारका रमाइला र विशेष क्षणहरू भिडियोमा कैद गरी टिकटक तथा अन्य सामाजिक सञ्जालमार्फत सेयर गरौँ। यसले हाम्रा चाडपर्व, परम्परा र संस्कृतिलाई अझ धेरै मानिससम्म पुर्याउन मद्दत गर्नेछ। सबैमा सुख, शान्ति, समृद्धि र खुसीको हार्दिक शुभकामना।
