हरेक वर्ष नोभेम्बर १२ का दिन विश्वभर विश्व निमोनिया दिवस मनाइन्छ। ‘ग्लोबल कोअलिसन अगेन्स्ट चाइल्ड निमोनिया’ (Global Coalition Against Child Pneumonia) को पहलमा सन् २००९ देखि यो दिवस मनाउन सुरु गरिएको हो। निमोनिया रोग कसरी लाग्छ, किन लाग्छ र यो रोग लागेमा के गर्न सकिन्छ भनेर जानकारी दिई सबैलाई सचेत तथा प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको सङ्क्रमण हो। यसले फोक्सोका हावाका थैलीहरू सुन्निएर तिनमा तरल पदार्थ वा पीप जम्ने गर्दछ। यसले गर्दा बिरामीलाई उच्च ज्वरो आउने, कमजोरी हुने, कफसहित खोकी लाग्ने र सास फेर्न एकदमै गाह्रो हुने जस्ता लक्षणहरू देखा पर्छन्। विशेष गरी साना बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई यो रोगको जोखिम अलि बढी हुन्छ। यसको उपचार समयमै नगर्दा निमोनियाले गम्भीर समस्या पनि निम्त्याउन सक्छ।
निमोनियाबाट बच्नका लागि नियमित रूपमा साबुनपानीले हात धुने, सरसफाइमा ध्यान दिने, धूवाँधूलो र प्रदूषणबाट बच्ने, पोषिलो खाना खाने र बालबालिकालाई नियमित खोप (PCV) लगाउनुपर्छ। यदि रोगका लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्था वा नजिकैको अस्पतालमा जाँच गराउनुपर्छ। निमोनिया दिवसले निमोनियाको बारेमा सही जानकारी लिन, सावधानी अपनाउन र समयमै यसको उपचार गर्नका लागि प्रेरित गर्दछ।
