काठमाडौँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँको बेलामा महिलालाई चालकको छेउमा राखेको क्याबिन सिटको टिकट नदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ। महिलालाई चालकको पछाडिको सिटमा बस्ने व्यवस्था गर्न भनिएको हो।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार चालकको छेउमा महिला बस्दा चालकको ध्यान भङ्ग हुन सक्ने गुनासो आएको छ। यसले गर्दा लामो दुरीको यात्रामा दुर्घटना हुन सक्ने भएकोले यस्तो आग्रह गरिएको हो।
दसैँको बेला धेरै मानिस आफ्नो घर जाने भएकोले बसमा यात्रुको भिड बढ्छ।यस्तो समयमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु यातायात व्यवसायीको जिम्मेवारी हो। त्यसैले महासङ्घले टिकट काट्ने बेलादेखि नै सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।
