Yam Budha Magar

गीत यस्तो होस् कि गीतका हरेक शब्दभित्र हज्जारौं -हजार आकाशहरू अटाऊन् । थुप्रो सगरमाथा गाँसेरमात्र यसको गहिराईसम्म गोटा लाउन सकियोस् । पहरा शब्द-शब्दमा रसाओस् । ढुंगाले हर-हरफमा गुलाफ फुलाओस् । यस्तो कुमारी शब्द होस् – कसैले नलेखेको । यस्तो नव-शब्द होस् – कसैले नबोलेको ।

समग्रमा यस्तो मिठो गीत लेखूँ कि निष्ठुरीहरूले जिवनभरी ललिपप भनेर मेरै गीत चुसिरहून्; चाटिरहुन् ।

यस्ता नरम-न्यानो शब्द उनेर गीत लेखूँ कि बियोगी प्रेमीहरूले प्रेमिका ठानेर जीवन-पर्यन्त छातिमा टाँसिरहून् । सिरक र सिरानी बनाएर सातै-जुनी काटून् । यस्तो मलम-गीत लेखूँ कि सारा दुखेका घाऊहरू जादूयी तरिकाले निको होऊन्।

हो, त्यस्तो गीत कि जसका शब्दहरूले मातेर ‘नारान दाई’ हार्मोनियम पेल्दै मेरो छेउमा आएर भनुन् “बाबुचा, ल्या टेरो गीट म गाएर ल्याउँछ ।”

उता भक्तराज आचार्य गीतका हरफहरू चाखेर दशकौं पछि सन्चो होऊन् । सारेगम अलाप्दै आएर स्विकारून् ; “महासय, यो गीत होइन; अमृत हो । यो जीवन हो; सिङ्गो जगत हो ।”

बालेन सर आफ्ना सारा मेयरीय कामकाज छोडेर ‘म’ गीतकारलाई खोज्दै आएर भनूँन “या…या..या..ब्रो, यू नेल्ड इट । द्याट्स ह्वाट आई कल्ड मास्टर-पिस अफ र्‍याप सङ।”

आह..! त्यस्तो गीत जस्लाई लोकगीतमा लपेट्न सकियोस् । पप भनेर पट्काउन मिलोस् । शास्त्रीय संगीतका सरगममा बगाउन सकियोस् । र्‍यापले रेप गर्दापनि बैध नै ठहरियोस् ।

हो, यस्तै गीत लेख्नकालागि म पागल भैरहेको थिएँ । पागल हुनुमा मजा आईरहेथ्यो । दुनियाँलाई भन्न मन लागिरहेथ्यो, ‘सबै साहित्यकारहरू पागल हुन् ; तर सबै पागलहरू साहित्यकार होइनन् । ‘ भनाई अजम्बरी हुन्छ भन्नेमा म पक्का थिएँ । तर, भनाई अजम्बरी बनाउन पनि त एउटा गीत लेख्नै पर्‍यो ; हैन त ?!

सायद, एकरात आधा-राततिर हो क्यार ! गीत राँको बालेर आँगनतिर आउला-आउला गर्दै थियो । धमिलो-धमिलो, चिसो-चिसो अँध्यारोमा पनि निथ्रुक पसिनामा नुहाएर उज्ज्यालो भएर आउँछ कि जस्तो पनि लागिरहेथ्यो । अलिकति गुराँसको रंग-रस बोकेर; अलिकति सुन्दरीको मुस्कान लपेटेर; झरना झैं छाँगिएर; अलिकति माया मिसाएर; अलिकति जोंश थपेर ; आधा बेहोसी र आधा होसी भएर; अलिलि नाँच्दै; अलिलि हाँस्दै कलमको टुप्पोनेर र मेरो रूद्रघण्टी मुनिमुनि आउनैलागेथ्यो । निस्केला-निस्केला गरिरहेथ्यो । हो त्यही बेला छिमेकीको छोरीले ठूलो वूफरमा गड्याँङ्ग आवाजमा बजाईहाली ; ‘अरेली काँडैले मलाई च्वास्स -च्वास्स … अरेली काँडैले … ।

छिमेकीको छोरीको सिको गर्दै छिमेकीको छोराले बजायो । छिमेकीको छोराको सिको गर्दै अर्को मोराले रन्कायो । त्यसपछि देशैभरीका आन्टी, माइजू, काका, मामा, साला-साली, हजूरबा -हजूरआमा, बच्चा-बच्ची सबैले रन्काए; अरेली काँडैले च्वास्स.. च्वास ।

तब; झल्याँस्स भएँं, गीत जाबो सतहमा अरेंली काँडाको टुप्पोतिर हुँदोरैछ ; म ‘मूला कहाँ-कहाँ मात्र गोता लाइन । धिक्कार होस् मलाई ।

हो, यसरी गीतकार बन्ने सपनाको बेलूनमा अरेली काँडाहरूले च्वाँस्स-च्वाँस्स घोंचेर प्वाल पारिदियो । मेरो औकात देखाईदियो । बडा राम्रो भयो ।

सायद म गीत देख्न सक्दिन । म गीतकार बन्न नसक्ने भएँ ।

बरू कवि बन्छु होला !

र, लेख्छु होला ‘जी. शाह’ कविता;

भाग्यभन्दा फराकिलो

‘कर्म’ हुँदैन

भगवानभन्दा ठूला,

‘कर्मठ’ हुँदैनन् ;

‘बा’ भन्दा राम्रा

‘दाई’भन्दा बलिया

भाउजूभन्दा राम्री

हृदयन्द्रका बुवाभन्दा असल,

‘राजाभन्दा’ महान् ;

जाबो दुईकौडीका ‘प्रजा’ हुँदैनन् ।

यो पनी पढ़नुहोस: खोया -याम बुढा मगर

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *