‘खोयाँ’ भनेर नाके-स्वरमा नाक बजाउने आदत छ भने पनि ‘खोयाँ’ ‘खोया नै हो । र, सिधा-सिधा ‘खोया’ भन्नुहुन्छ भने पनि ‘खोया’ खोया नै रहन्छ; ‘दानामा’ वा ‘गेडामा’ बदलिन्न ।
यी र यस्ता गुजुल्टिएका सारा कुरा बुझ्न छोडेर एउटा बुझ्नै पर्ने कुरा यो बुझ्नुस् कि खोया हाम्रो राष्ट्रिय पहिचान हो । खोया हाम्रो पद्धति, प्रणाली, जीवनशैली र यथार्थ हो ।
नत्र, खोयाहरूले खोया खाएको बिषयमा खोयाबिर्के खाएर खोया छलफल गर्न हामी खोयाहरू किन मरिहत्ते गर्थ्यौं?! हैन र?!
“ए, खोया! खोया जस्तो कुरा नगर है ।”
देख्नुभयो नि तपाईंले आफैंलाई?! तपाईंले खोयाबिना मलाई गालीसम्म पनि गर्नसक्नुभएन । तपाईं पनि मान्छे त खोया नै हो कि क्या हो?!
अब, यति बुझ्नुस् खोयाजी, तपाईंले जतिसुकै वा जत्रोसुकै खोया देखाउनुस्; म खोया जस्तो कुरा गर्न खोया गएपनि छोड्दिन !
बरू, म त भन्छु खोया साहित्यको एउटा बिशाल खम्बा हो । यही खम्बामा उभिएर खोयाबिर्के खाँदै थुप्रो खोया-साहित्य लेखिनुपर्छ ।
“कस्तो हुन्छ खोया-साहित्य?! ” तपाईंको खोयाजस्तो मनमा खोयाजस्तो जिज्ञाशा खोया जलेजस्तै जलेको म बुझ्न सक्दिन र?!
हो, बुझ्न सक्छु । तर ‘ई.. यस्तो हुन्छ खोया साहित्य’ भनेर देखाउने ल्याकत मसँग छैन । बरू सुझाव यो छ कि; पोखरातिर एउटा साहित्य-साम्राट छन् ; हरेक दिनजसो केही न केही साहित्य सम्बन्धि पुरस्कारको प्रायोजन गर्छन्; मुख्यत त्यो पुरस्कार आफैं थाप्छन् र मख्ख पर्छन्; साहित्य-पुरस्कारमा गिनिज-बुक भर्ने उनै एक्ला हुन्; उनैलाई सोध्नुस् ।
यदि यसो गर्न सक्नुहुन्न भने तपाईंको पाटीमा खोया-बा हुनुहुन्छ ; चन्द्रागिरी चढ्दा होस् वा खटियाबाट झर्दा उहाँलाई खोया-साहित्य फुरिहाल्छ; उहाँलाई नै सोध्नुस् ।
“खोया-बा नहुनेहरूले कस्लाई सोध्ने ?!”
यो त प्रश्न नै भएन नि! खोयाबा नहुनेहरूका खोया-दाईहरू छन्; खोया-भाउजू आफैंमा खोया साहित्यकी रसिली-भरिली; सुकिली-मुकिली खोया-पात्र हुन्; उहाँहरूसँग परामर्श लिने नि; हैन र?
‘सुतलीबाम’वालाहरूले?!
उहाँहरूले ‘खोया’ वा खोया-साहित्यका बारेमा कसैसँग सल्लाह लिन जरुरी भएन । किनकि, हिजो जनयुद्ध ताका बनाएको ‘सुतलीबम’ नै खिईएर; तुहिएर; गलेर; हारेर आजको ‘खोयामा’ परिणत भएकाले खोयाहरूको जननी नै सुतलीबमवालाहरू हुन् । तपाईं त्यस्लाई भौतिक रूपमा लिनुस् वा वैचारिक र सैद्धान्तिक रूपमा चित्रण गर्नुस्; कुरा उही हो ।
जे होस्, तपाईंले आफ्नो जीवनको कुनै न कुनै पलमा ‘जिन्दगी खोयाजस्तै खुईलिरहेछ’ भनेर भन्नुभएको छ भने तपाईंलाई थप कुरा भनिरहनु परेन । किनकि तपाईंले उक्त पंतिमा गीत, कथा, कविता, उपन्यास सबै-सबै भनिसक्नुभएको छ । तपाईं महान खोया-साहित्यकार नै हो । पत्याउनुहुन्न भने हेर्नुस् त ! खोया बिना उक्त पंति; अझ भनुँ त्यो विशाल साहित्य ‘जिन्दगी (..?!)जस्तै खुईलिरहेछ ‘ भनेर अर्थ न बर्थको हुनेथियो ।
साहित्यका कुरा गर्न छोडेर तपाईंजस्ता महान-खोयाकै कुरा गरौं न । यदि तपाईं खोया-समाजिक-अभियन्ता, खोया-मोटिभेटर, खोया-धार्मिक प्रवचक; खोया-सकारात्मक चिन्तक या यस्तै केही खत्रा-खोया हुनुहुन्छ भने तपाईंले आफ्ना अनुयायीहरूलाई खोयापाराले आफ्नो मोटिभेसनल स्पिकिङ यसरी स्पिक्न सक्नुहुन्छ – “त्यतिसम्म खुईलेर पनि त्यो निर्जीव खोयाले राष्ट्रिय चर्चा बटुल्नसक्छ भने तपाईं त दाना सहितको रसिलो-जिउँदो-जाग्दो मान्छे; के तपाईंलाई अन्तराष्ट्रिय पहिचान बनाउन असम्भव होला र?! बुझ्नुस; हर खोयाका दिन आता हैं । “
अझै, तपाईं चन्दाको धन्दा गर्नेवाला क्रान्तिकारी समाजसेवी हुनुहुन्छ भने आफ्ना धन्दा-दाताहरूलाई प्यारकासाथ भन्नसक्नुहुन्छ; “ए खोया! मरेपछि के खोया लाने हो र?! खोयाबाट जाबो दुईचार दाना झार्नं पनि के साह्रो कन्जुस्याइँ गरेको ! हाम्रो खोया-सरकार आएपछि खोया-कार्वाही गर्न नपरोस् !”
देख्नुभयो त खोयाले धन्दामा बल थपेको?!
यति भनिसकेपछि खोया धन्दा, दर्शन; वाद; चिन्तन; संस्कार र सृष्टि हो भनिरहनु नपर्ला । यति लेखिसकेपछि तपाईंलाई खोयालाई फ्राईडिय शैलीले ब्याख्या गर्नुस् भनेर भनिरहनु पनि उपयुुक्त नहोला । फ्रायडले त्यो बेलै भनेकाथिए नि; “मान्छे दुई कारणले जिवन्त रहन चाहन्छ – एक, खोयाको कारणले; अर्का, खोयाको भरपुर उपभोग र प्रयोग गर्ने उदेश्यले । “
तसर्थ पनि हामीले अहिलेलाई यति मात्र भनौं – खोया सृष्टिको पनि जननी हो । खोयामा समाजवाद छ । साम्यवाद अटाउँछ। पँजीवाद रमाउँछ। खोया जनजाति हो। । खोया आर्य पनि हो । यसमा बाहुनवाद र मतवालीवादको संयुक्त ब्याख्या छ । खोयामा आस्तिक र नास्तिक दुबैको अस्तित्व छ । खोयामा उचनीचता छैन । भेदभाव भेटिन्न ।
“कसरी?!”
यसरी कसरी नसोध्नुस । बरू कहिलेकाहीं म जस्तै खोया बनेर बहकिनुस -त्यहाँ अर्थ नभए बेअर्थ अवश्य हुने छैन ।
मुख्यत: खोया यस्तो पवित्र चिज हो जस्लाई मुस्लिमले पुकार्न सक्छन् ; ‘खोया हो अकबर ।’
हिन्दुले जप्नसक्छन् ; ‘खोयां सत्यंम शुन्दरम ।’
क्रिष्चियनले भन्नसक्छन् ; ‘खोयामेन’ ।
बुद्धिष्टले पढ्न सक्छन्; ‘खोयां शरणम गच्छामी।’
“अहो! हाम्रो भगवानमाथि यस्तो निर्मम खोया प्रहार ?! यो हदसम्मको अपमान ?!” माथिका पंक्तिले तपाईंको भगवानमाथि (धर्ममाथी?!) खोया प्रहार गरेको देखेपछि तपाईंको हातमा मलाई प्रहार गर्न अर्का एक खोया तयार पारेको म देख्न सक्छु ।
शान्त रहनुस् । लामो सास तान्नुस् । वास्तवमा तपाईं स्वयंले बुझ्नुहुन्छ – भगवान साँंच्चिकै भगवान हो भने उसलाई खोया-प्रहार वा नमस्कार दुबैले केही असर वा फरक गर्दैन । यी दुबै अतिलाई भगवानले तिरस्कार गर्छ । भगवानले नै तिरस्कार गर्ने त्यस्ता ‘अतिमा’ डुबेर हामी जाबो खोया-मानवले सिंगो जिवनलीलालाई किन खोया बनाउनु ! हैन र?!
बरू, भारतीय शिक्षक विकास दिव्यकीर्तिको शब्द सापत लिएर भनौं न –
“यदि भगवान छ भने बडो बुद्धिमान छ । उस्ले मेरो मूल्यांकन मैले उस्लाई दिनमा कति पटक नाम लिएर चाप्लुसी गर्रें वा कति वटा लड्डू घूस दिएँ भनेर हैन कि मैले मानव-जगतकालागि कति असल काम गर्न सकें भन्ने आधारमा गर्छ । तसर्थ, म त्यस्तो बुध्दिमान भगवानको ब्यर्थ चाप्लुसी गरेर किन समय खेर फालूँ ?! वा किन गरूँ?!
यदि, भगवान छ र असल कामलाईभन्दा ज्यादा भक्तहरूको चाप्लुसी र ‘वाह-वाही’, ताली, भजनमामात्र खुशी रहन्छ अनि त्यसै अनुरूप मानिसको ‘धर्म वा पापको’ मूल्यांकन गर्छ भने त्यस्ता मभन्दा अविवेकी भगवानलाई किन मानूँ ? किन पुजूँ?! किन चप्लुसी गरूँ?!”
र, म भन्छु – त्यस्ता हरटोलका; हरचोकका; हरअड्डा-अपिसका, हरपाटी-पंतिका अविवेकी खोया-भगवानहरूलाई खोया-बिर्के खाएर अर्का खोया किन नहान्ने?!