काठमाडौँ, असोज २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी गम्भीर विवादमा तानिएका छन् । सोमबार सञ्चार माध्यममार्फत सार्वजनिक भएको उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी अत्यन्तै आपत्तिजनक, अमर्यादित र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ ।
अडियो बाहिरिएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यस विषयलाई लिएर सांसद सुनारको तीव्र आलोचना भइरहेको छ । विभिन्न क्षेत्रबाट सार्वजनिक पद धारण गरेका व्यक्तिको आचरण र नैतिकतामाथि प्रश्न उठाउँदै उनीमाथि कारबाही र राजीनामाको माग समेत उठ्न थालेको छ ।
यद्यपि, सार्वजनिक भएको उक्त अडियोको सत्यता र आधिकारिकता स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी नै छ । विवाद चर्किएपछि सांसद सुनारको प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल फोन ‘स्वीच अफ’ रहेको छ।
रास्वपाले भने आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ।छानबिन नसकिए सम्म खगेन्द्रले कुनै पनि सार्वजनिक कार्यक्रममा भाग लिन पाउने छैनन् ।
