काठमाडौं।धनवन्तरी त्रयोदशी अर्थात धनतेरस हिन्दु धर्मावलम्बीहरूले भक्तिभावका साथ तिहारको सुरुवातसँगै मनाउने एक विशेष महत्त्वपूर्ण दिन हो। यो प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ। धनतेरस दुई शब्द मिलेर बनेको छ जहाँ ‘धन’ को अर्थ सम्पत्ति र ‘तेरस’ को अर्थ त्रयोदशी अर्थात् १३ औँ तिथि हो। धार्मिक मान्यताअनुसार यस दिन समुद्र मन्थनका क्रममा भगवान धन्वन्तरि अमृतको कलश लिएर प्रकट हुनुभएको थियो। त्यसैले यस दिन भगवान धन्वन्तरिको पूजा गरिन्छ। उहाँलाई स्वास्थ्य र आयुर्वेदको देवताका रूपमा मानिन्छ।उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ ।
यस दिन बिहानै घर सफा गर्ने, घरको ढोका सजाउने र साँझ दीप बाल्ने चलन रहेको छ। यस दिन धनका देवता कुबेर र देवी लक्ष्मीको पनि पूजा गरिन्छ। पूजाका लागि दियो, फूल, अक्षता, अगरबत्ती, फलफूल, मिठाई, पानी, चन्दन तथा सिन्दूरलगायतका सामग्री प्रयोग गरिन्छ। यस दिन मानिसहरूले सुन, चाँदी, सिक्का, तामा, पित्तल तथा स्टिलका नयाँ भाँडाकुँडा किन्ने परम्परा पनि छ। धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामान किन्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिन्छ। यसका साथै साँझ यमराजको नाममा दियो बाल्ने पनि चलन छ जसलाई यमदीपदान भनिन्छ। यसरी दियो बाल्दा परिवारका सदस्यहरूको दीर्घायु र सुरक्षाको कामना गरिन्छ।
धनतेरसले धनसम्पत्तिसँगै स्वास्थ्य, सुख, शान्ति र पारिवारिक खुसीको महत्त्व पनि सम्झाउँछ। यस दिन गरिने पूजा र परम्पराले जीवनमा सकारात्मक सोच र समृद्धिको कामना गर्न प्रेरित गर्छ। त्यसैले धनतेरसलाई धन, स्वास्थ्य र समृद्धिको कामना गर्ने विशेष दिनका रूपमा मनाइन्छ।
