काठमाडौँ | गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न बस्तीमा ठुलो क्षति पुर्याएको छ।
चुमनुब्रीमा नदी थुनिएर बाँध फुट्दा आएको लेदोसहितको बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प, ३५ भन्दा बढी घरटहरा र आरुघाटको मुख्य पक्की पुलसहित ६ वटा पुलहरू बगाएको छ। बाढी पूर्वानुमान महाशाखाले समयमै लाख नागरिकलाई मोबाइलमार्फत पूर्वसूचना दिएकाले ठुलो मानवीय क्षति टरेको छ।
यद्यपि, बाढीका कारण उंगिलुङ खोला क्षेत्रबाट कम्तीमा १० जना गोठालाहरू अझै सम्पर्कविहीन छन् भने जोखिममा परेका ६ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ। अहिले सुरक्षा निकायहरू बेपत्ताको खोजी र अवरुद्ध यातायात सञ्चालनका लागि वैकल्पिक मार्गको खोजीमा सक्रिय रूपमा खटिएका छन्।
