मेरो जन्म खोटाङ जिल्लाको ऐसेलुखर्क-७ माक्पामा भएको हो। म पेटमा हुँदा, मेरो बुवाले आमालाई छाडेर बेपत्ता हुनुभयो। मेरो जन्म समाजको परिभाषा अनुसार छोराको रूपमा भयो, र मेरी आमाले एक्लै हामी चारजना सन्तानलाई (म र मेरा तीन दिदीहरू) पढाइ, लेखाइ, पालन-पोषणमा कुनै कमी अनुभूति हुन दिनुभएन, न त संघर्षमा कुनै कसर बाँकी राख्नुभयो।
मेरो जन्मसँगै घरमा केही आशा र खुसी फर्किए। तर म बिस्तारै हुर्कदै गर्दा, समाजले दिएको ‘पुरुष’ को परिभाषामा म आफूलाई असहज महशुस गर्न थाले (पुरुष भन्न साथै मर्दाङ्गिको निशानी देखाउनु पर्ने, अैया भन्नू नमिल्ले छोरा मान्छे रुन नहुने म यस्ता खाल्को कुराहरुको बिरोधी थिए, मानव अनि मानवताको संस्कार भुल्न हुदैन भन्ने मान्यता थियो) विद्यालयका साथीहरूले दिनहुँ मलाई हाँसोको पात्र बनाउँथे, तिरस्कार गर्थे, र अपमानजनक शब्दहरूले प्रहार गर्थे। मलाई लाग्थ्यो कि यो सबै मैले सहनै पर्नेछ।

आमाले हामी चारजना सन्तानलाई राम्रो शिक्षा र पालन-पोषण दिनका लागि अथक प्रयास गर्नुभयो। तर म बिस्तारै जीवनलाई फरक दृष्टिकोणबाट बुझ्दै थिएँ। एक दिन आमालाई सन्चो भएन। हस्पिटल लगेपछि थाहा भयो कि आमालाई पाठेघरको क्यान्सर भएको रहेछ। त्योभन्दा केही अघि कान्छी दिदीलाई अल्सर भएर गारो भएपछि धरानको घोपा हस्पिटलमा उपचार गरिएको थियो। म S.E.E को परीक्षा दिने दिनमा नै मेरी आमाको भक्तपुरको क्यान्सर हस्पिटलमा अप्रेसन हुँदै थियो। परीक्षा बिग्रेला भनेर आमाले भाइलाई नसुनाउ भन्नुभएको रहेछ। परीक्षा सकिएपछि काठमाडौं आएर पढ्ने र काम गर्ने योजना बनाएको थिएँ। साथीहरूले काठमाडौं जाने बेला सँगै आउने सल्लाह गरे। तर बाटोमै मलाई छोडेर गए पनि म आफ्ना सपना र साहसलाई अठोटका साथ बोकेर काठमाडौं आइपुगें। यहाँ आर्थिक कठिनाइका बाबजुद म १०० रुपैयाँमा पढाइ हुने समता कलेजमा भर्ना भएँ र एउटा सुपरमार्केटमा ६००० रुपैयाँ तलबमा काम गर्न थालेँ।

त्यसपछि मैले LGBTIQA+ समुदायको बारेमा अध्ययन सुरु गरें। मेरो अध्ययनले मलाई बुझायो कि म जस्ता सयौं व्यक्तिहरू आफ्नो लैङ्गिक पहिचानकै कारण समाजमा धेरै संघर्ष गरिरहेका छन्। के समाजमा हिस्सेदारी बनाउनु मात्र हाम्रो जिम्मेवारी हो त? भन्ने प्रश्न उठ्यो। बिस्तारै अभियानमा जोडिन थालेँ। LGBTIQA+ बाल प्रतिनिधित्व गर्दै विभिन्न खालका अभियान चलाउन थालेँ। त्यही दौरानमा Life4Change Project मा समुदायको प्रतिनिधित्व गर्दै विश्वको पहिलो Youth Champion 2019 मा नेपालबाट छनोट भएँ।
म अन्योलमा परेँ – म के गरूँ? सामाजिक सञ्जालमा खुलेर आफ्नो पहिचान देखाउँ या नदेखाउँ भन्ने कुरा थियो। केही समय अध्ययन गरेपछि, LGBTIQA+ समुदायका व्यक्तिहरूले खुलेर आउन नसक्ने स्थिति देखेर अब पनि कति सहने? भनेर आफ्नो लैङ्गिक पहिचान खुलेर आउने समाजमा भनेर आफै बाट खुलेर सुरुवातको थालनी ल्याएँ। त्यसपछि मेरो नेटवर्क झन् बलियो हुँदै गयो।

अहिले म विभिन्न अभियान र संस्थाहरूमा काम गरिरहेको छु। मेरो लैङ्गिक पहिचानले मलाई मात्रै संघर्षमा धकेलेन, मेरो परिवारलाई पनि ठूलो संघर्ष झेल्न बाध्य बनायो। गाउँका केही अगुवाहरूले मेरी आमालाई प्रश्न गर्थे, “तिम्रो छोराले के गर्यो? किन मेकअप गरेको? किन छक्काहरूको संगत गरेको?” तर मेरी आमाको जवाफ सधैं एउटै हुन्थ्यो: “मेरो सन्तानले राम्रो काम गरिरहेको छ, मलाई यसमा गर्व छ।” मैले लैङ्गिक पहिचान खुलेर स्वीकार गर्दा, समाजले आपत्ति गर्न खोजे पनि म समाज र राज्यसँग लड्न तयार छु।
तर संघर्ष कहिल्यै सकिएन। काम गर्ने क्रममा धेरै प्रकारका आरोप, राजनीति, र चुनौतीहरू सामना गर्नु पर्यो। मैले ती सबैलाई सिकाइको रूपमा लिन थालेँ। यस्ता राजनीतिक खेलहरू अझै सामना गर्दैछु र एक दिन सही समयमा यी सबैको जवाफ दिनेछु। समाजमा चुनौतीहरू सामना गर्न मलाई सजिलो लाग्छ।

मेरो पढाइ: मैले हालै Social Science मा स्नातक पूरा गरेको छु र यसलाई नै मेरो पहिलो प्राथमिकतामा राख्न चाहन्छु।
आज, म को हुँ भन्ने प्रश्नको उत्तर आफैंसँग पाएको छु। म गर्वका साथ भन्न सक्छु कि म LGBTIQA+ समुदायको सदस्य हुँ। मेरो पहिचानले समुदाय, समाज, र राज्यका लागि महत्त्व राख्छ। लैङ्गिक पहिचान स्वीकार्ने वातावरण बनाउनका लागि मेरो प्रयास जारी छ।
दक्षिण एशियामा समान विवाहको कानूनी मान्यता नेपालले पहिलो देश बनेर पाएको छ। आज भन्दा २० बर्श पहिले बाट मेरो समुदायको अग्रजहरुले कथक प्रयास गर्दै आउनु भएको थियो । अन्त्यमा पुन: २०८० सालमा Sital Pinky Gurung ज्युको नेतृत्वमा म लगाएत मेरो केही समुदायको ब्यक्तिहरुको उपस्थित प्रयासले पुन: जिल्ला अदालत, सर्बौच्च अदालत अनि उच्च अदालत सबै अदालतमा लडेर समान बिबाहको मान्त्यता पाएको थियो। यो सारा संसारका लागि राम्रो उदाहरण बनेको छ। तर यसमा गर्व गर्नुपर्नेमा, साथ प्रोत्साहन दिनु पर्ने ठाउँमा म लगाएत मेरो LGBTIQA+ समुदायमा प्रत्यक्ष नेपालका क्रिस्चियनहरुका अगुवाईहरुले उनिहरुले नै संचालित पार्टि आमूल नागरिक परिवर्तन पार्टिले प्रहार गरि रहेका छन, सार्वजनिक ठाउँमा खुलेर नै हाम्रो हक अधिकार खोस्न खोजी रहेको छन्। समलिङ्गी विवाह र सर्जरी भनेको समाज विकृति भनेर हामी माथी हत्य गरि रहेका छन । जुन अन्य केही व्यक्तिहरूले यस्मा Any-gender movement पनि चलाई रहेका छ्न, नेपालमा same-sex marriage विरोध गरिरहेका छन्। किन हामीलाई स्वतन्त्रपूर्वक बाँच्न दिइँदैन? पैसाको आड, बल, र दम्भले हाम्रा अधिकार कुण्ठित गर्न सक्दैन।

हामी सबै LGBTIQA+ समुदायका व्यक्तिहरूले तीन दशकभन्दा लामो समयदेखि विभेद, तिरस्कार, र अपमान सहँदै आएका छौँ। अब हामी अझै लड्न तयार छौँ। समानताको लागि संघर्ष जारी छ र यसमा म दृढ छु अनि मेरो समुदाय यो LGBTIQA+ को मात्रै मुद्दा नभएर एउटा सामाजिक राज्यको मुद्दा हो। हामी यहि देशको नागरिक हौ र हामिले स्वतन्त्र र अन्य नागरिक सरह जिउन पाउनु पर्छ। र कोहि पनि आफू बिरुद्द अन्याय अत्याचार हुन्छ भने त्यस्मा चुप लगेर नबस्नुस आउनुस आफ्नो आवाज बुलन्द गर्नुस।
ग्यालेरी






