Yam Budha Magar

अभावमा रहरहरू उम्रन डराउँछन् । डराई-डराई उम्रिहाले पनि अभाव झेल्न नसकेर आँसुमा डुबि आत्महत्या गर्न बाध्य हुन्छन् । एकबारको जिन्दगीमा, तिनीहरुको न मलामी हुन्छन् न सहिद घोषणा गर्ने कुनै पार्टी र भातृसंगठन ।

तर, सम्पन्नतामा कहानी अलि भिन्न हुन्छ । सम्पन्नतामा रहरहरू झाँगिन्छन् । ठाउँ-कुठाउँबाट रहरहरू अंकुराउँछन् । मुख, आँखा, नाक, कान लगायत मनुष्यका हर दिवार-दूलोबाट रहरहरू यौवना-हाँसो हाँस्दै चियाउँछन् । रौंभन्दा बढी शरीरमा रहर पलाउँछन् । क्लियर-कट कुरा गर्ने हो भने – जहाँ-जहाँ रौं छन् त्यहाँ-त्यहाँ रहरहरू दोब्बर फुल्छन् र जहाँ रौं छैनन् त्यहाँ रहरहरू तेब्बर भएर फल्छन् ।

भाउजूको अनुहार – जहाँ सुख-सुबिधाले बुढ्यौंली बर्जित गरिदिएकोछ; जहाँ हरदिन कृम-पाउडरहरू मस्तिले चिप्लेटी खेल्छन् ; जहाँ फेसियल बाफिन्छन; जहाँ थ्रेडिङले हरदिन दाईँ-खेल्छ; जहाँ हरदिन बाह्र-पन्ध्र जनाले झाडू-पोछा लाउने मजदूरी गर्छन् ; हो त्यस्तो बगैंचामा रौं उम्रने कुरै भएन । त्यसैले रहरहरूको घारी मौलाएकोथियो ।

“शेरू डार्लिङ, आई वान्ना बि अ फार्मर । प्लिज, नो नभनिस्सेला है ।” भाउजूले रहरको गुलाफले दाजूलाई प्यात्त हिर्काउनुभयो ।

“भनेरभन्देखुन्लाई।” दाजूले आफ्नो भनेरभन्देखुन्मा पूर्णविराम लगाएर सोच्नुभयो । र, शेरले एउटा अज्ञात शायरको शेरले भाउजूलाई सेक्नुभयो ।

“कति गर्छ्यौ रहर प्रिय, रहरले हुन्न माया,

रोम नै दिन्छु भनेपनि शहरले हुन्न माया ।”

यहाँनेर बुझ्नुपर्ने यो छ कि; भाउजू केवल भाउजू मात्र थिइनन् । साहित्यकार बिपिको पार्टीको अभिभारा सम्हाल्ने महान नेतृ पनि थिइन् । नेता वा नेतृ भनिसकेपछि उसको क्षमता र विद्वतामा अविश्वास गर्नु भनेको लगभग थारो गाईलाई सडकमा ल्याएर ट्राफिक प्रहरी बनाए जत्तिकै पाप हो । तसर्थ यसो भनौं ; नेता जे-जे हुन् -त्यो अवश्य पनि हुन् ; जे-जे होइनन् र हुन सक्दैनन् त्यो पनि हुन् । हाम्रो सन्दर्भमा भन्ने हो भने कवि पनि हुन् ; कविता पनि , सायर पनि हुन् सायरी पनि । हो, हाम्री भाउजू पनि यस्तै-यस्तै थुप्रै केही हुन् । तब त,शेर दाजूको शेरले सेकिएकी भाउजूले हनिमुनताका लेखेर रेशमी साडीमा पोकोपारी राखेको मुलायम सायरीको चिर्कटो निकालिन् र शेर दाजूलाई सिधै दागिन् ।

“बुढेसकालमा पोई पाको,

न दुई भाको; न सुई भाको ।”

यो उच्चस्तरको सायरी ‘जेन्डर एण्ड एज बायस्ड’ थियो वा थिएन हामी जस्तो बाह्रमासे किसानलेले बुझिरहन जरुरी छैन । हामीले मात्र बुझ्नुछ कि हाम्री प्यारी भाउजूलाई किसान बन्ने रहरले काउकुती लगाएकोछ ।

“कसरी बन्ने त किसान ?” प्रश्न भाउजूसँग थियो ।

उत्तर बाख्रा पालेर किसानी अनुभव संगालेका गगन देवरसँग थियो ; “भाउजू लुक एट प्रचण्ड ।”

” किन हेरू उस्लाई?! प्रधानमन्त्री हो भन्दैमा यो उमेरमा मैले प्रचण्डलाई हेरूँ?! भाउजूले गगनलाई कहिले पो सही बुझेका थिए र, यहाँनेर बुझ्नु!

गगन प्रष्टिए, ” आई मिन, मेक पिपल फूल बाई एक्टिङ; इन द सेम वे प्रचण्ड एक्टेड अफ बिइङ रेभूलुसनरी ।”

“नो, नो, देवरबाबू, आई वान्ना बी अ रियल फार्मर । आई एम गोइङ टु रिमोट एरिया ; वर्क लाईक अ फार्मर; इट लाईक अ फार्मर; टक लाईक अ फार्मर; एण्ड लिभ लाइक अ फार्मर । भाउजूले योजना र रहरहरूको बिस्कुन फिजाउँनुभयो ।

“छ नि; फोटो नखिच्नी ?! भिडियो टिकटकमा नराख्नी?! टिभीमा समाचार नठेल्नी?! अनि कसरी बनिन्छ भाईरल?! भाइरल नबने कसरी बनिन्छ किसान?!” हो, पार्टीकारितामा अब्बल धमलाले सही ठाउँमा सही कुरा गरे र भाउजूको किसानी लङ-मार्चमा सामेल भए ।

भाउजूको मर्सिडिज नेपालको कुनै दुर्गम गाउँ ताकेर बत्तियो । र, बाटोभरी “म हुँ किसानकि छोरी मेड इन दरबार” भन्ने भाउजूको फेवरेट गीत बजाईरह्यो । महामन्त्री देवर द्वय भाउजूलाई खुसी पार्न गाडीभित्र बसिबसी नाचिरहे । ,

“रोक, रोक, रोक … ।” हैन भाउजूले यो अक्करेभीरमा किन गाडी रोक्नुपरेको ?! नास्ता-पानी वा बिजुली-पानी वा केकालागी हो?

भाउजू गाडीबाट बाहिर निस्कनुभयो । भाउजूलाई देख्नासाथ भीरभरिका बाँदरहरू खुशीले उफ्रदै आए । कोही भाउजूका काखमा आएर लुटपुटिए; कोही काँधमा बसेर रमाए । भाउजूले बाँदरहरूलाई करीब दुईघन्टा सेफ-सेक्सको बारेमा प्राक्टिकल-पाठ पढाउनुभयो र करीब चार घन्टा परिवार-नियोजनकाबारेमा अँग्रेजी-प्रवचन दिनुभयो ।

भाउजूका साथ-सामीप्यता र शिक्षा-दीक्षाले पुलकित बाँदरहरू एकहातमा भाउजूले उपहार दिएको कन्डमको बाकस र अर्का हातमा आफ्ना प्रेमिकालाई च्याप्दै पहराको काप तिर हानिए ।

“भाउजू , छ नि, यो गाई हो ।” धमला किन जान्ने टोपल्लिनु परेको?! भाउजूले गाई नचिन्नुहोला र? त्यसैपनि गाई राष्ट्रिय जनावर हो ।

“धमला, प्लिच डोन्ट जोक । माई फादर वाज अ फार्मर एन्ड आई नो; डिस ईज अ काउ नट अ गाई ।” अब भाउजू बोलेपछि सक्किगो; जाबो गाईकोबारेमा विवाद गरेर देशमा आगो लाउनु किन?!

“वाट इज दिस पोर एनिमाल ह्याबिङ अ बिग ट्यूमर विटवीन लेग्स?!” भाउजूले गोरूलाई चिन्नुभएनछ । ठिकैछ । द ट्यूमर इज अ ह्यूमर भनेर जान्ने किन पल्टिनु ?

बरू, उता, भाउजू गोबरमा चिप्लेटेखेलेर उत्तानो पर्नुभएछ । शरीरभरि गोबर दलिएका भाउजू आफ्ना बा-बराजूलाई सम्झेर रून थाल्नुभयो ।

” इट इज नट अ जोक टु बि अ रियल फार्मर इन आवर कन्ट्री ।” देवर बिश्वप्रकाश बिस्तारै फुस्फुसाउनुभयो ।

“महारानी दूध लिईस्स्योस । गाईको ताजा दूध । ” गरीब किसान भाउजूको खातिरदारीमा एकगिलास दूध लिएर हाजिर भयो ।

“हाउ कम, दूध कम्स फ्रम गाई?! । दूध कम्स इन अ प्लास्टिक प्याकेट; डज नट इट?! भाउजूको प्रश्न धमलालाई थियो । तर धमला दूध-काजू हमलामै बेस्ट थिए ; सुनेनन् ।

जताततै गोबरको गन्ध । जताततै धूलो हिलो । अनकन्टार र उराठिलो ठाउँ । न उज्यालो; न रमाइलो । कहिले ढिडोसँग आँसु; कहिले आँसूसँग ढिडो निलिरहेका निम्छराहरूको बस्ती । तालूले झरी, गर्मी, तुषारो; दुख र भारी बोक्नुपर्ने बाध्यता । न जीवनमा बहार, न खुशी किन्ने बजार । पाखा भरी पहिरो नै पहिरो; मनैभरी ब्याथा गहिरो-गहिरो ।

यी सबै-सबै देखेर भाउजू थाक्नुभयो र भन्नुभयो

“आई कान्ट बेयर अल दीज नन्सेन्स । लेट्स गो टु प्यालेस । आई डोन्ट वान्ना बी अ फार्मर ।”

“त्यसो भनेर कहाँ हुन्छ?!” धमलाले भाउजूलाई सम्झाउने प्रयास गरे; “मन्त्री नखाने?! मन्त्री खाने भए चुनाव नजित्ने?! चुनाब जित्न भोट नझार्नी ?! भोट झार्न स्टन्ट नगर्नी?! स्टन्टकालागि किसान नबन्नी? !

“काम गरेर किसान बन्न सकिन्न ;आई रियलाईज इट ।” भाउजूले लत्तो छाड्नुभयो ।

“काम नगरी पनि त किसान बन्न सकिन्छ नि म्याडम ।” धमलासँग आईडिया छ र?!

“कसरी ?!” देवरहरू तथा स्वयं भाउजूको मुखबाट उत्साहजनक प्रश्न फुस्कियो ।

“झोलामा खेती गर्ने नि । ” धमलाले उपाय फिंजाए ।

“भो, झोलामा त नगर्ने । झोले भन्छन् ।” भाउजू घुर्किए।

“केमा गर्ने त?!” देवरहरू तर्सिए ।

“बरू अफिसमा खेती गर्छु ।” भाउजूले किसान बन्ने उपाय निकाले ।

भाउजूको घोषणाले सारा देवर-जमातलाई असीम खुसी दियो । देवरहरू एकै स्वरमा कुर्लिए;” किसान भाउजू -जिन्दावाद । भाउजूको रहर -अमर रहोस् ।”

About The Author

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *