आज अर्थात् शुक्रबारबाट महापर्व छठ सुरु भएको छ। छठ पर्व ४ दिनसम्म मनाइन्छ। छठमा सूर्य भगवान् र छठी माताको पूजा गरिन्छ। पहिले तराई-मधेश प्रदेशमा मात्र यो पर्व मनाइन्थ्यो भने अहिले काठमाडौँ उपत्यकालगायत देशभर नै धूमधामका साथ मनाइन्छ। छठको व्रत बस्नाले परिवारको भलो हुने, सन्तान सुख मिल्ने र रोगव्याधि निको हुने विश्वास छ। यस पर्वमा पण्डितको आवश्यकता पर्दैन र सबै जातजातिले एउटै घाटमा उभिएर पूजा गर्ने भएकाले यसले समाजमा एकता र समानताको सन्देश पनि दिन्छ।
छठ पर्वको ४ दिन आ-आफ्नै नियम र विधिहरू हुने गर्दछ। पहिलो दिन आज ‘नहाय-खाय’ मा भक्तजनहरूले नुहाएर चोखो खाना (लौकाको तरकारी, चनाको दाल, र भात) खाने गर्छन्। दोस्रो दिन भोलि ‘खरना’ मा भोलि दिनभरि नै भोकै बसेर साँझ माटोको चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाई प्रसाद खाने गर्दछन्। तेस्रो तथा मुख्य दिन पर्सि ‘सन्ध्या अर्घ्य’ मा दिनभरि पानी पनि नखाईकन व्रत बसेर साँझ नदी वा पोखरीको किनारमा गएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ। (अर्घ्य भनेको देवता, अतिथि वा मान्यजनलाई आदर–सत्कार गर्दा पूजा वा स्वागतका रूपमा चढाइने वा दिइने जल, पञ्चामृत, दुबो, फूल, अक्षता आदि वस्तु हो।) त्यसपछि चौथो दिन बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि करिब ३६ घण्टा लामो कठोर व्रत पूरा हुन्छ।

छठ पूजामा गाउँघरमै पाइने शुद्ध र प्राकृतिक चिजहरू मात्र प्रयोग गरिन्छ। यसमा गहुँको पिठो र सख्खरबाट बनाइने मुख्य प्रसाद ‘ठेकुवा’ सँगै उखु, केरा, नरिवल, भोगटे, कागती र अदुवा जस्ता फलफूलहरू बाँसको नाङ्लो र ढक्कीमा (बाँस वा निगालोको चोयाबाट बुनेको भाँडो) राखेर चढाइने गरिन्छ। जनकपुरको गङ्गा सागर, वीरगञ्जको घडीअर्वा पोखरी र काठमाडौँको रानीपोखरी तथा बागमती किनारलगायतका ठाउँहरू माटोको दियो र बत्तीले दुलहीझैँ सिँगारिएका हुन्छन्। यसरी नदी र पोखरीहरूको सरसफाइ गर्दै मनाइने छठ पर्वले प्रकृतिलाई माया गर्न र आपसमा मिलेर बस्न सिकाउँछ।
