काठमाडौँ | अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दसैँको अवसरमा अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना दिएका छन्। साथै नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीहरूप्रति दुःख व्यक्त गरेका छन्।
उनले बाढीका कारण दुःख र कठिनाइ भोगिरहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरू एक्लो नरहेको बताएका छन्। उनले बाढीपीडितलाई सहयोग गर्ने व्यक्ति तथा परिवारहरूको पनि प्रशंसा गरेका छन्।
प्रधानमन्त्री अल्बानिजले दसैँले सत्यको असत्यमाथि र असलको खराबीमाथि विजयको सन्देश दिने उल्लेख गरेका छन्। उनले नेपाली समुदायलाई सुख, शान्ति र एकताको कामना गर्दै नेपाली भाषामै ‘विजया दशमीको शुभकामना’ दिएका छन्।

