काठमाडौं, गिनिज वर्ल्ड रेकर्ड होल्डर नेपाली फुटबल खेलाडी सजन डंगोल बुधबार नेपाल फर्किएका छन्। उनी युनाइटेड किंगडमको बर्मिंघमबाट बुधबार साँझ काठमाडौं ओर्लिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परिवार, शुभचिन्तक र खेलप्रेमीहरूले स्वागत गरेका थिए।

सजन डंगोलले १६ फेब्रुअरी २०२४ मा एक घण्टामा एकान्तर खुट्टाले सबैभन्दा धेरै फुटबल किकअप बाउन्स गर्दै ९,२१८ पटक बल छोएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए। यो ऐतिहासिक उपलब्धिले नेपाली खेलकुदमा गौरवपूर्ण इतिहास कायम गरेको छ।

टोखा, काठमाडौंका स्थायी बासिन्दा सजन डंगोलको फुटबल यात्रा सानै उमेरदेखि सुरु भएको हो। उनका बुबा मनिराज डंगोल समाजसेवी तथा सांस्कृतिक अभियन्ता हुन् भने आमा मोहनमाया डंगोल एक गृहिणी हुन्। उनीहरूका दोस्रो सन्तान सजन बाल्यकालदेखि नै फुटबलप्रति गहिरो रुचि राख्थे।

स्कुले जीवनमै स्थानीय स्तरका फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले यू-१४ फ्रेन्ड्स क्लबबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए। उनलाई यू-१४ नेपाली राष्ट्रिय टिममा समावेश गर्न बोलाइएको भए पनि क्लबबाट खबर ढिलो हुँदा उक्त अवसर गुमेको थियो।
सजनले २०७१ सालमा बाँसबारी क्लबबाट सहिद स्मारक बी-डिभिजन लिग खेलेका थिए भने २०७२ सालमा ब्रिगेड ब्वाइज क्लबबाट सहिद स्मारक ए-डिभिजन लिग खेल्ने अवसर पाए। उपत्यका बाहिरका प्रतियोगिताहरूमा उनले कहिले मनाङ मर्स्याङ्दी क्लबबाट, कहिले फ्रेन्ड्स क्लबबाट त कहिले काठमाडौं टिमको कप्तानी गर्दै उच्च प्रदर्शन गरेका थिए।
बिस्तारै आफ्नो खेलमा निखार ल्याउँदै उनी युनाइटेड किंगडम पुगे। बर्मिंघम सिटी युनिभर्सिटीमा अध्ययन गर्दै उनले विभिन्न विदेशी फ्रेन्चाइज फुटबल क्लबहरूमा समेत खेल्ने अवसर पाए। उनले बर्मिंघम टाइगर्स, साल्टले स्टालियन्स, एफसिभी ग्रेस डियु जस्ता क्लबबाट लिग खेलेका थिए।
सजनले युकेको प्रतिष्ठित कम्पनी माइनर वेयर विलिस बाट कम्पनी टुर्नामेन्ट खेल्दा उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता घोषित हुँदै पेरा कप जितेका थिए। युकेको फुटबल यात्राले उनको खेल क्षमतामा अझ सुधार ल्यायो, जसले गर्दा उनले गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल भए।
नेपाल फर्केपछि उनका परिवारजनको खुशी शब्दमा बयान गर्न गाह्रो छ। बुबा-आमाका रसाएका आँखाहरू, खेलप्रेमीहरूको उल्लास र शुभचिन्तकहरूको मायाले त्रिभुवन विमानस्थलमा विशेष माहोल सिर्जना गर्यो।
विदेशमा रहँदा पनि आफ्नो परम्परागत संस्कृतिप्रति अटल सजन काकाको बिहेमा सहभागी हुन नेपाल आएका हुन्। फुटबल करियरका लागि विदेशमा रहे पनि नेपाली संस्कार र परिवारप्रतिको सम्मान कहिल्यै नबिर्सने उनी केही दिन नेपालमै रहने छन्।
नेपालबाहिर रहेर पनि नेपाली खेलकुदलाई विश्वमाझ चिनाउने सजन जस्ता खेलाडीहरू देशको गौरव हुन्। नेपालमा फुटबल खेलको प्रवर्द्धन र खेलाडी विकासका लागि उनले आगामी दिनमा योगदान दिने विश्वास गरिएको छ।
फोटो ग्यालेरी








